२३ असार २०८३, मङ्लबार
7 July 2026, Tuesday

संविधान संशोधन बहसपत्र: विपक्षी दलहरू बाहिरिए पनि प्रतिवेदन लेखन अन्तिम चरणमा

संविधान संशोधन बहसपत्र: विपक्षी दलहरू बाहिरिए पनि प्रतिवेदन लेखन अन्तिम चरणमा

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले थपेको म्यादभित्रै प्रतिवेदन तयार गरी प्रधानमन्त्रीसमक्ष पेस गर्ने तयारी भइरहेको छ।

तर, कार्यदल गठन भएको ८३ दिनसम्म निरन्तर सहभागी भएका विपक्षी दलहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) असार २२ गते सामूहिक पत्र बुझाउँदै कार्यदलबाट बाहिरिएका छन्। उनीहरूले यो बहस प्रक्रिया नै खारेज गर्न माग गरेका छन्।

कार्यदलका संयोजक असिम शाहले प्रतिवेदन तयार हुने अन्तिम समयमा आएर विरोध गर्नु कार्यदललाई असफल बनाउने रणनीति भएको बताए। तीन महिनाको अवधिमा देश–विदेशका विज्ञ र नागरिकबाट आएका सुझावहरू समेटिँदा सरकारको लोकप्रियता बढ्ने डरले विपक्षी दलहरू बाहिरिएको उनले दाबी गरे। विपक्षी दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्यमान्यता नचलाउने प्रतिबद्धता माग गरे पनि कार्यदलले यसअघि नै ती मान्यता नचलाउने स्पष्ट पारिसकेको थियो।

कार्यदलका सदस्य मोहनलाल आचार्य र सदस्य–सचिव लीलाधर सुवेदीले यसरी अन्तिम समयमा आएर दलहरू बाहिरिनु गैरजिम्मेवारपन भएको र यसले जनतामा नकारात्मक सन्देश जाने बताए। विपक्षी दलहरू बाहिरिए पनि तोकिएकै समयमा बहसपत्र तयार गरी मन्त्रिपरिषद्मा पेस गरिने संयोजक शाहले जानकारी दिए। कार्यदलले हालसम्म विभिन्न क्षेत्रका विज्ञहरू र अनलाइनमार्फत देश–विदेशका ४४ हजार ७ सयभन्दा बढी नागरिकको सुझाव संकलन गरिसकेको छ।