३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

अर्जेन्टिनी खेलाडीले फकल्याण्डको ब्यानर देखाएकोमा ह्वाइट हाउसको समर्थन

अर्जेन्टिनी खेलाडीले फकल्याण्डको ब्यानर देखाएकोमा ह्वाइट हाउसको समर्थन

न्युयोर्क- विश्वकप फुटबलको सेमिफाइनलमा इङ्गल्याण्डलाई हराएपछि अर्जेन्टिनाका खेलाडीले फकल्याण्ड टापुमाथि आफ्नो देशको दाबी गर्दै ब्यानर देखाएको घटनालाई अमेरिकाको ह्वाइट हाउसले समर्थन गरेको छ। अर्जेन्टिनाको टोलीले ‘फकल्याण्ड अर्जेन्टिनाको हो’ लेखिएको ब्यानर फहराउँदै खुसी मनाएका थिए।

यसलाई लिएर फिफाले राजनीतिक अभिव्यक्ति दिएको भन्दै अर्जेन्टिनालाई कारबाही गर्न सक्ने सम्भावना छ। तर, ह्वाइट हाउसको फिफा कार्यदलका प्रमुख एन्ड्रयु जुलियानीले खेलाडीहरूको कार्यलाई वाक स्वतन्त्रताको अधिकार भन्दै बचाउ गरे। उनले अमेरिकामा सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता रहेको बताए।

यता, बेलायतको प्रधानमन्त्री कार्यालयले भने यस घटनाको अनुसन्धान गर्न फिफालाई आग्रह गरेको छ। बेलायती सरकारले विश्वकप आफ्नो नभए पनि फकल्याण्ड टापु पक्कै आफ्नो भएको दाबी गर्दै राजनीतिलाई खेलकुदमा नमिसाउन भनेको छ। फकल्याण्ड सरकारले पनि यस घटनाप्रति निराशा व्यक्त गर्दै फिफाले नियमअनुसार कारबाही गर्ने आश राखेको छ। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिलारुएलले भने सामाजिक सञ्जालमा खेलाडीहरूको समर्थन गर्दै फकल्याण्ड अर्जेन्टिनाकै भएको दाबी गरिन्।

सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच फकल्याण्ड टापुको विषयलाई लिएर ७४ दिनसम्म युद्ध भएको थियो, जसमा दुवैतर्फका सयौँ सैनिकको ज्यान गएको थियो। सन् २०१३ मा भएको जनमत सङ्ग्रहमा फकल्याण्डका अधिकांश नागरिकले बेलायतको अधीनमै रहन मतदान गरेका थिए।