३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

विश्वकप फाइनल : अमेरिकी ‘सुपर बाउल’ जस्तै हुँदै

विश्वकप फाइनल : अमेरिकी ‘सुपर बाउल’ जस्तै हुँदै

न्युयोर्क- यसपटकको फिफा विश्वकपको फाइनल खेल अमेरिकी खेल ‘सुपर बाउल’ जस्तै देखिने भएको छ। आइतबार हुने फाइनलमा पानी खाने विश्राम, लामो हाफटाइम सो र च्याम्पियनसिप रिङको व्यवस्था गरिएको छ। जसले गर्दा विश्वकपको फाइनल फरक तरिकाले हुँदैछ।

पहिले फुटबल खेल दुई हाफमा हुन्थ्यो। तर यसपटक प्रत्येक हाफको बीचमा अनिवार्य तीन मिनेटको पानी खाने विश्राम राखिएकाले खेल चार भागमा बाँडिएको छ। इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेल र उरुग्वेका प्रशिक्षक मार्सेलो बियल्साले यसले फुटबलको मौलिकता र गतिलाई असर गरेको बताए। तर, अमेरिकी प्रशिक्षक माउरिसियो पोचेटिनोले भने यसलाई आफ्नो टोलीको रणनीतिको लागि प्रयोग गरे।

यसैगरी, फाइनलमा हाफटाइम विश्राम पनि निकै लामो हुनेछ। फुटबलको नियम अनुसार हाफटाइम १५ मिनेटको मात्र हुनुपर्छ। तर जस्टिन बिबर, म्याडोना, साकिरा र बिटिएस जस्ता चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिने भएकाले विश्राम करिब २५ मिनेटको हुनेछ। धेरै बेर विश्राम गर्दा खेलाडीको शरीर चिसिने र उनीहरुको प्रदर्शनमा असर पर्ने भन्दै यसको आलोचना पनि भएको छ।

यसका साथै, फिफाले इतिहासमै पहिलो पटक विश्वकप जित्ने खेलाडीलाई ट्रफी र स्वर्ण पदकको साथमा च्याम्पियनसिप रिङ पनि दिने घोषणा गरेको छ। फिफाले अमेरिकी खेलकुदको यो चर्चित परम्परालाई विश्वकप फुटबलमा ल्याएको हो।