५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

स्पेन बन्यो विश्व च्याम्पियन: अर्जेन्टिना १-० ले पराजित, एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

स्पेन बन्यो विश्व च्याम्पियन: अर्जेन्टिना १-० ले पराजित, एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

न्युयोर्क- अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीको मेटलाइफ स्टेडियममा भएको फाइनलको १०६औँ मिनेटमा टोरेसले गोल गरेका थिए। खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। यस जितसँगै स्पेनले युरोपियन च्याम्पियनसिपपछि लगातार विश्वकप पनि जित्ने इतिहास रचेको छ।

स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बने। आफ्नो भविष्यबारे बोल्ने क्रममा आँसु रोक्न नसकेपछि उनी सम्मेलन बीचमै छाडेर बाहिरिएका थिए। डिसेम्बरमा सम्झौता सकिने भएकाले उनले अध्यक्षसँग छलफल गरेर भविष्यको निर्णय लिने बताए। यस्तै, कप्तान लियोनल मेसीले पराजयको बाबजुद मैदानमा आफ्नो अनुभव मिश्रित रहेको र आफूले राम्रो महसुस गरिरहेको बताए। यो उनको अन्तिम विश्वकप खेल हुन सक्ने अनुमान गरिएको छ।

विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधि यात्रा गर्वले भरिएको बताए। उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक बनेका उनले आफूलाई भाग्यमानी माने। निर्णायक गोलकर्ता टोरेसले यो गोल चार करोड ७० लाख स्पेनी जनताको भएको बताए।

यता फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासकै पहिलो खेलाडी बनेका छन्। उनले प्रतियोगिताका आठ खेलमा १० गोल गरे। सन् १९७० पछि एकै विश्वकपमा १० गोल गर्ने उनी पहिलो खेलाडी हुन्। यससँगै विश्वकप इतिहासमा उनको कुल गोल संख्या २२ पुगेको छ, जुन मेसीको भन्दा एक गोल बढी हो।

यसपटक विश्वकपका अधिकांश व्यक्तिगत पुरस्कार स्पेनले नै आफ्नो पोल्टामा पारेको छ। स्पेनका मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए। उनले अहिले आफू बादलसँगै उडिरहेको जस्तो खुसी लागेको बताए। यस्तै, आठ खेलमा केवल एक गोल मात्र खाएका स्पेनका उनाइ सिमोन उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभका हकदार बने। त्यसैगरी, स्पेनको रक्षापंक्ति सम्हालेका १९ वर्षीय पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए।