६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

ला लिगा प्रमुखको आरोप: ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’

ला लिगा प्रमुखको आरोप: ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’

न्युयोर्क- स्पेनिस फुटबल लिग (ला लिगा) का अध्यक्ष जाभियर टेबासले फिफामाथि गम्भीर आरोप लगाएका छन्। सन् २०३० को विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको छलफल गैरजिम्मेवार भएको भन्दै उनले यसले समग्र फुटबल उद्योगलाई नै ध्वस्त पार्न लागेको बताए।

इटालियन खेल पत्रिकासँग कुरा गर्दै टेबासले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल सकिएको टिप्पणी गरे। उनले ४० दिन मात्र चल्ने विश्वकपलाई फिफाले बढी महत्त्व दिएर हजारौँलाई रोजगारी दिने घरेलु फुटबल उद्योगलाई कमजोर बनाएको बताए।

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल, मोरक्को लगायतका देशमा आयोजना हुँदैछ। यो विश्वकपमा ६४ वटा टोलीलाई खेलाउने फिफाको योजनाले फुटबलको क्यालेन्डर झनै भद्रगोल हुने टेबासको भनाइ छ। घरेलु लिगहरूले नै फुटबललाई बचाइराखेको भन्दै उनले फिफाले त्यसलाई बेवास्ता गरेर गैरजिम्मेवार निर्णय गरिरहेको आरोप लगाए।