८ साउन २०८३, शुक्रबार
24 July 2026, Friday

अविरल वर्षा र पहिरोले देशभरका ९ राजमार्ग पूर्ण रूपमा ठप्प

अविरल वर्षा र पहिरोले देशभरका ९ राजमार्ग पूर्ण रूपमा ठप्प

काठमाडौं- लगातारको वर्षा र पहिरोका कारण देशका ९ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण दिँदै पहिरो र सडक कटानले गर्दा दर्जन सडक प्रभावित भएको जानकारी दिए।

बाढीको जोखिमलाई हेरेर काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै गाडी चलाउन रोक लगाइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि यो वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन।

इलामको राजदुवालीमा सडक हिलाम्मे हुँदा मेची राजमार्ग बन्द छ। सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा खसेको पहिरोले अरनिको राजमार्ग पनि पूर्ण रूपमा ठप्प भएको छ।

यसबाहेक बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ सडक, मुगुको नाग्म–गमगडी, रसुवाको पासाङ ल्हामु सडक, अछामको मध्यपहाडी लोकमार्ग र लमजुङको बेँसीसहर–चामे सडक पनि पहिरोले गर्दा पूर्ण रूपमा बन्द भएका छन्।

दोलखाको किर्नेटारमा भने तामाकोशी नदीले सडक बगाए पनि खिम्ती विद्युत् संस्थाको परिसरबाट वैकल्पिक बाटो खुलाइएको प्रहरीले बताए।