८ साउन २०८३, शुक्रबार
24 July 2026, Friday

वैदेशिक रोजगारीमा ठगी बढ्दै: बिर्तामोडमा उद्धार र न्याय माग्नेको भिड

वैदेशिक रोजगारीमा ठगी बढ्दै: बिर्तामोडमा उद्धार र न्याय माग्नेको भिड

काठमाडौं- वैदेशिक रोजगारीका नाममा हुने ठगी, घरेलु हिंसा र श्रम स्वीकृतिसम्बन्धी समस्या लिएर झापाको बिर्तामोड नगरपालिकामा आउनेको सङ्ख्या बढ्न थालेको छ।

नगरपालिकाका रोजगार संयोजक होमनाथ भट्टराईले विशेषगरी कुवेत जस्ता देशमा महिलाहरु घरेलु हिंसामा परेको र एजेन्टबाट ठगिएको गुनासो धेरै आउने गरेको बताए। उनका अनुसार २०८० सालयता दुई हजारभन्दा बढीले वैदेशिक रोजगारबारे परामर्श लिएका छन् भने वार्षिक करिब पाँच सय जना श्रम स्वीकृतिको काम लिएर आउने गरेका छन्।

पछिल्लो समय भिजिट भिसामा विदेश जाने र सामाजिक सञ्जालका आकर्षक विज्ञापनको भर पर्ने बानीले ठगी बढाएको छ। खासगरी युरोप पठाउने भ्रामक प्रचारले धेरै युवा आर्थिक र कानुनी समस्यामा फसेका छन्।

संयोजक भट्टराईले श्रम स्वीकृति लिएर मात्र विदेश जान भने। बिना स्वीकृति जाँदा कानुनी झमेला हुने र बिमा तथा राहत सुविधा नपाइने उनले बताए। अहिले नगरपालिकाले अनलाइनबाटै श्रम स्वीकृति फारम भर्न सहयोग गर्नुका साथै विदेशमा अलपत्र परेकाको उद्धार र परिवारमा गम्भीर रोग लाग्दा आर्थिक सहायता दिलाउन पनि सहजीकरण गरिरहेको छ।