आज हरिशयनी एकादशीः नारायण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो
- ०९ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। यस दिन भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वास छ। आज बिहानैदेखि काठमाडौँ उपत्यकाका चार नारायण, बूढानीलकण्ठसहित देशभरका नारायण मन्दिरहरूमा पूजा र दर्शन गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड छ। आज र हरिबोधिनी एकादशीका दिन यी चार नारायणको एकैदिन दर्शन गरेमा मनकामना पूरा हुने जनविश्वास छ। त्यसैले टाढाटाढाबाट पनि मानिसहरू गाडी रिजर्भ गरेरै दर्शनका लागि पुग्ने गरेका छन्।
सबै चार नारायणको दर्शन गर्न नसक्नेहरू बूढानीलकण्ठ र दरबारमार्गस्थित चतुर्व्यूह नारायण मन्दिरमा पुगेका छन्। नारायणहिटी चतुर्व्यूह मठका मठाधीश राजेश्वरानन्द सरस्वतीले त्यहाँ चारै नारायणको मूर्ति रहेको र दर्शन गर्दा चार नारायण दर्शन गरे बराबरकै फल मिल्ने जानकारी दिए। दर्शनार्थीको भीड बढेपछि बूढानीलकण्ठ मन्दिरको ढोका राति ३ बजेदेखि नै खुला गरिएको महन्त निगमानन्द स्वामीले बताए।
नेपालीहरूले आजैदेखि घरघरमा तुलसीको विशेष पूजा पनि सुरु गर्दैछन्। यो पूजा कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म जारी रहन्छ। यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ र धेरै भक्तजन यस अवधिमा व्रत बस्छन्। काठमाडौँका गोकर्णेश्वर, पशुपति क्षेत्र, हाँडीगाउँ र वसन्तपुरलगायतका अन्य नारायण मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति छ।