१० साउन २०८३, आइतवार
26 July 2026, Sunday

इन्टरनेटको जमानामा पनि हुलाकको क्रेजः कैलालीमा एक वर्षमै १ लाख २७ हजार चिठीपत्र ओसारपसार

इन्टरनेटको जमानामा पनि हुलाकको क्रेजः कैलालीमा एक वर्षमै १ लाख २७ हजार चिठीपत्र ओसारपसार

काठमाडौं- मोबाइल र इन्टरनेटको प्रयोग बढे पनि कैलालीमा हुलाक सेवाको प्रयोग भने घटेको छैन। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै कैलाली हुलाकबाट एक लाख २७ हजार ६२० वटा चिठीपत्र र हुलाक सामग्री ओसारपसार भएका छन्।

हुलाक निर्देशनालय कैलालीका अनुसार बाहिर पठाइएका र भित्रिएका सामग्रीको सङ्ख्या बराबर अर्थात् ६३ हजार ८१० छ। सूचना अधिकारी अनिश तामाङले सबैभन्दा धेरै रजिष्ट्री चिठीको कारोबार भएको बताए। त्यस्तै, विदेशबाट आउने र जाने ४७० वटा पत्र तथा छिटो पुर्‍याउने सेवामार्फत दुई हजार ७२३ वटा सामग्री आदानप्रदान भएका छन्।

चिठीपत्रबाहेक हुलाकले सञ्चार माध्यमको नवीकरण पनि गर्दै आएको छ। एक वर्षको अवधिमा २१ वटा अनलाइन, ३७ वटा प्रेस प्रतिनिधि परिचयपत्र र १५ वटा रेडियोको नवीकरण गरिएको छ। हुलाक टिकट बिक्री र अन्य सेवाबाट कार्यालयले ६४ लाख ३१ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

हुलाक निर्देशक सिद्धराज जोशीले स्रोतसाधन र जनशक्ति कम भए पनि निरन्तर सेवा दिइरहेको बताए। सरकारले हुलाकलाई आधुनिकीकरण गर्ने नीति लिएको भन्दै उनले पर्याप्त स्रोतसाधन भएमा यो सेवा अझै प्रभावकारी र बलियो हुने विश्वास व्यक्त गरे।