१३ साउन २०८३, बुधबार
29 July 2026, Wednesday

कास्कीमा पहिरो, पाँच परिवार प्रभावित

कास्कीमा पहिरो, पाँच परिवार प्रभावित

काठमाडौं- कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा आइतबार राति गएको पहिरोले पाँच परिवारका घरगोठ र पशुचौपायामा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोले स्थानीय प्रेम बानियाँको घर पूर्ण रूपमा भत्किएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा सबै पुरिएका छन्। त्यस्तै, छानबहादुर क्षेत्रीको घर चर्किएको छ भने उनको करिब तीन रोपनी जग्गाको अन्नबाली नष्ट भएको छ।

पहिरो गोठमा पस्दा राजमान विकको एउटा पाडो मरेको छ भने एउटा भैँसी घाइते भएको छ। त्यसैगरी, स्थानीय खुसीमाया विक र पूर्णबहादुर सुनारको घर पनि पहिरोको उच्च जोखिममा परेका छन्।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले यस घटनामा कुनै मानवीय क्षति भने नभएको बताए। घटनाको खबर पाउनेबित्तिकै घान्द्रुकस्थित प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको उनले जानकारी दिए।