लैङ्गिक हिंसा र छुवाछूतका उजुरी सुल्झाउन मन्त्रालयहरूबीच समन्वय
- १२ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले लैङ्गिक हिंसा, जातीय विभेद र छुवाछूतका उजुरीलाई छिटो र प्रभावकारी रूपमा सुल्झाउन अन्य तीनवटा मन्त्रालयसँग समन्वय थालेको छ।
मन्त्री सीता बादीको निर्णयअनुसार गृह, कानुन र सङ्घीय मामिला मन्त्रालयलाई औपचारिक रूपमा पत्राचार गरिएको हो। यी मन्त्रालयहरूसँग मिलेर कानुन सुधार्न र स्थानीय तहसम्म सेवा प्रभावकारी बनाउन खोजिएको मन्त्रालयले जनाएको छ।
महिला मन्त्रालयले गृह मन्त्रालयलाई सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबीच समन्वय गरेर यस्ता उजुरीमाथि छिटो र बिनाभेदभाव छानबिन गर्न आग्रह गरेको छ। एउटै निकायले मात्र यस्ता जटिल समस्या समाधान गर्न नसक्ने भएकाले सबै मिलेर काम गर्न लागिएको हो।
मन्त्रालयमा आउने धेरैजसो उजुरी हिंसा र विभेदसँगै जोडिएका हुन्छन्। मन्त्रालयहरूबीचको यो समन्वयले पीडितलाई समयमै न्याय पाउन सजिलो हुने मन्त्रालयको विश्वास छ।