१३ साउन २०८३, बुधबार
29 July 2026, Wednesday

धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान

धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान

काठमाडौं- सुनसरीमा भएको घटनापछि झापामा धार्मिक सहिष्णुता बिग्रन नदिन जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन्। यसै विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयले भद्रपुरमा एक सद्भाव बैठक आयोजना गरेको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सुनसरीको घटना दुःखद् भएको बताए। उनले झापामा यस्तो घटना दोहोरिन नदिन सबैले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिए। “धार्मिक विविधता हाम्रो साझा सम्पत्ति हो, कुनै पनि हालतमा आपसी विश्वासलाई कमजोर हुन दिनु हुँदैन,” उनले भने।

बैठकमा अन्तरधार्मिक सञ्जाल झापाका अध्यक्ष राजकुमार राई र मुस्लिम समाज विकास समितिका अध्यक्ष मोहमद राफीले सबै समुदायबीच एकता, संवाद र सम्मान हुनुपर्ने बताए। त्यस्तै, कांग्रेस झापाका सभापति देउमान थेवेले जिल्लाका १५ वटै पालिकामा यस्ता सद्भाव बैठक गर्न सुझाव दिए। कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले सबैले एकअर्काको धर्म र आस्थाको सम्मान गर्नुपर्ने बताइन्।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख वसुन्धरा खड्काले झापामा विगतमा कुनै पनि धार्मिक विवाद नभएको स्पष्ट पारिन्। उनले आगामी दिनमा पनि सबै मिलेर शान्ति कायम राख्नुपर्ने बताइन्। बैठकमा सहभागी सबैले हल्ला र अफवाहको पछि नलाग्न र मिलेर बस्न सबैसँग आग्रह गरेका छन्।