१४ साउन २०८३, बिहिबार
30 July 2026, Thursday

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकी धम्कीको चीनले गर्यो विरोध

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकी धम्कीको चीनले गर्यो विरोध

न्युयोर्क- चीनले आफ्ना कृत्रिम बौद्धिकता (एआई) कम्पनीहरूलाई बदनाम नगर्न र प्रतिबन्धको धम्की नदिन अमेरिकालाई भनेको छ। चिनियाँ कम्पनीले अमेरिकी बौद्धिक सम्पत्ति चोरेको भन्दै अमेरिकाले अनुसन्धान गर्न र प्रतिबन्ध लगाउन सक्ने बताएपछि चीनले यस्तो जवाफ दिएको हो।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले विज्ञान, प्रविधि र व्यापारका विषयलाई राजनीतिसँग नजोड्न अमेरिकालाई आग्रह गरे। उनले चिनियाँ कम्पनीले विकास गरेका एआई प्रविधिहरू अमेरिकी प्रविधिकै समयमा सार्वजनिक भएको र केही त झनै उत्कृष्ट रहेको दाबी गरे। “नयाँ कुराको विकास गर्नु कुनै एउटा देशको मात्र एक्लो अधिकार होइन,” उनले भने।

चिनियाँ एआई कम्पनीहरू लामो समयदेखि अनुसन्धानमा लागेको र उनीहरूले आफ्नै बलमा धेरै प्रगति गरेको ती प्रवक्ताले बताए। उल्टै धेरै अमेरिकी एआई कम्पनीले नै आफ्नो काम र अनुसन्धानमा चिनियाँ प्रविधि प्रयोग गरिरहेको उनले दाबी गरे। दुवै देशका प्रमुखबीच भएको सहमतिअनुसार विश्वको भलाइका लागि एआईको विकासमा मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।