संवादबाटै समस्याको समाधान खोज्न दाहालको जोड, प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि
- १४ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवाद र सहमतिबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनसरीको परिस्थिति असहज बन्न नदिन सबै पक्षले सामाजिक सद्भावमा ध्यान दिनुपर्ने बताए। सुनसरीको कप्तानगन्जमा गोली चलाउनुपर्ने अवस्था थियो वा थिएन भन्नेबारे सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे।
अहिलेको असहज अवस्थामा प्रमुख दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको दाहालले बताए। सुकुम्बासी, ट्रेड युनियन, सीमा विवाद र संविधान संशोधनका विषयमा सरकारको कामप्रति उनले असन्तुष्टि व्यक्त गरे। लोकतान्त्रिक अधिकार र शासन प्रणाली विपरीत प्रधानमन्त्री बालेन्द्र शाहले गरेका कतिपय व्यवहारले आशङ्का उब्जाएको भन्दै दाहालले यस विषयमा संसद्मा स्पष्टीकरण दिन माग गरे।
विगतमा भूकम्पजस्ता विपद्का बेला प्रतिपक्षमा रहेर पनि आफूहरूले सरकारलाई सहयोग गरेको स्मरण गर्दै दाहालले देशलाई अप्ठ्यारो परेको बेला आफ्नो पार्टी अहिले पनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। राष्ट्रिय स्वाधीनता र सद्भाव कायम राख्न सत्तारुढ दल रास्वपाको महत्त्वपूर्ण भूमिका हुने पनि उनले बताए।