२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

भोटेकोशी बाढी: एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

भोटेकोशी बाढी: एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

काठमाडौं- भोटेकोशी बाढीपछि भेटिएका १ हजार ३४४ मध्ये १ हजार ३० शवलाई सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार डिएनए नमूना सङ्कलन लगायतका आवश्यक प्रक्रिया पूरा गरेर २२२ महिला, ३५५ पुरुष र ४५३ वटा पहिचान नखुलेका शव व्यवस्थापन गरिएका हुन्।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका १ हजार १२ वटा डिएनए नमूना सङ्कलन गरेको बताए। शव गाडिएको ठाउँको जिपिएस लोकेशन, फोटो, सङ्केत नम्बर र अन्य सम्पूर्ण विवरण सुरक्षित राखिएको छ। पछि कुनै आफन्तले दाबी गर्न आएमा वैज्ञानिक प्रमाणका आधारमा शव बुझाइने उनले जानकारी दिए।

अहिलेसम्म पहिचान नभएका १ हजार २७० शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। बाढीमा परेर हराइरहेका ४ हजार ८८६ जनाको तीव्रताका साथ खोजी भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत र अवरुद्ध सडक खुलाउन करिब ८ हजार प्रहरी खटिएका छन्।