२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

भोटेकोशी बाढी: रसुवामा ८ जलविद्युत् आयोजना र ४१ किमि सडक ध्वस्त, हजारौं बेपत्ता

भोटेकोशी बाढी: रसुवामा ८ जलविद्युत् आयोजना र ४१ किमि सडक ध्वस्त, हजारौं बेपत्ता

काठमाडौं- रसुवामा भदौ १० गते आएको भोटेकोशी बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले जिल्लाका ८ वटा जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ भने ४१ किलोमिटर सडक बगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार २८ सरकारी भवन, ११ विद्यालय, १४ बैंक तथा वित्तीय संस्था, एउटा इन्धन पम्प र १५ सय निजी घरमा क्षति पुगेको छ। यसका साथै ६ पक्की पुल, ८ अस्थायी फलामे पुल र १० झोलुङ्गे पुल बाढीले बगाएको उनले बताए।

बाढीपछि रसुवाका १३६५ र अन्य जिल्लाका ११६० नागरिक तथा २६४ पर्यटक सम्पर्कविहीन छन्। त्यस्तै, १४७ जना सुरक्षाकर्मी, बैंक र सरकारी कर्मचारी पनि हराइरहेका छन्। अहिले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन्।

उद्धार कार्यमा सघाउन दक्षिण कोरिया, भारत र चीनका विज्ञहरू पनि प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी प्रभावित बासिन्दालाई हेलिकप्टरमार्फत खाद्यान्न र राहत वितरण भइरहेको अधिकारीले जानकारी दिए।