रसुवा बाढी: मृत्यु हुनेको सङ्ख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता
- २४ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवा र त्यस आसपासका क्षेत्रमा आएको बाढी तथा विपद्मा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३ सय ६७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान दिएको जानकारीअनुसार सबैभन्दा धेरै चितवनमा ३६३ जनाको शव भेटिएको छ।
यस्तै, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेका छन्। काठमाडौंमा उपचार गराइरहेका दुई जनाको पनि ज्यान गएको छ। अहिलेसम्म १०२ वटा शवको पहिचान गरी आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले बताएको छ।
बाढीका कारण अझै ५ हजार १३२ जना बेपत्ता छन्। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन्, जसमा सर्वसाधारणसहित सुरक्षाकर्मी, सरकारी तथा बैंकका कर्मचारीसमेत छन्। नुवाकोटबाट १ हजार ७८७ जना र ५८७ जना विदेशी पर्यटक पनि बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। राहत र उद्धारको काममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २१ हजार १८५ जना खटिएका छन्।
बाढीबाट प्रभावित ३ हजार ६२८ जनालाई ३७ वटा विभिन्न आश्रय स्थलमा राखिएको छ। घाइतेहरूको विभिन्न अस्पताल र सुरक्षा निकायका शिविरहरूमा उपचार भइरहेको छ भने अस्पताल पुगेकामध्ये २५२ जना उपचारपछि घर फर्किएका छन्।