२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

भदौ २४ को घटना रहस्यमय भएको भन्दै प्रचण्डले मागे बहुआयामिक अनुसन्धान

भदौ २४ को घटना रहस्यमय भएको भन्दै प्रचण्डले मागे बहुआयामिक अनुसन्धान

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई इतिहासकै गम्भीर र रहस्यमय भन्दै यसको बहुआयामिक अनुसन्धान गर्न माग गरेका छन्।

दाहालले उक्त दिन सयौँ वर्ष पुराना ऐतिहासिक धरोहर, दलका कार्यालय तथा सरकारी र निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताए। घटना भएको एक वर्ष बितिसक्दा पनि वास्तविक दोषीको पहिचान नभएको र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत दराजमा थन्क्याइएको भन्दै उनले असन्तुष्टि जनाए।

भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाजलाई भदौ २४ को घटनाले अपहरण र कब्जा गरेको दाहालको भनाइ छ। उनले यो विध्वंसलाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा व्याख्या गरे। यस घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम रहेकाले सुरक्षा निकाय र राजनीतिक नेतृत्वलगायत सबै पक्षबारे गहिरो अनुसन्धान हुनुपर्ने उनले बताए।

संविधान, लोकतन्त्र र नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि गम्भीर प्रहार भएको भन्दै उनले दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै राजनीतिक शक्ति र आम नागरिकलाई एकजुट हुन आग्रह गरेका छन्। यसै विषयमा आफ्नो पार्टीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गरेको पनि उनले जानकारी दिए।