हानि र नोक्सानी सम्बोधन कोषले दियो नेपाललाई जवाफ
- २५ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफ दिएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीको क्षतिका विषयमा नेपालले भदौ १५ गते पत्र लेखेको थियो। कोषले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन गर्दै जवाफ पठाएको हो।
कोषका सह-अध्यक्षहरू क्यामिला मिनर्भा रोड्रिगेज तावरेज र जोर्ज बोस्र्टिङले पत्र पठाउँदै बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै नेपालको अनुरोधलाई जतिसक्दो छिटो सम्बोधन गर्न सञ्चालक समितिसँग छलफल भइरहेको बताए।
सहयोग छिटो र अर्थपूर्ण बनाउन कोषको नीति र नियमभित्र रहेर विकल्पहरू खोजिने उनीहरूले जानकारी दिए। साथै, क्षतिको प्रारम्भिक मूल्याङ्कन, तथ्याङ्क र स्याटेलाइट जानकारी उपलब्ध गराउन नेपाल सरकारले देखाएको तत्परताको कोषले प्रशंसा गरेको छ।