२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली टोली राष्ट्रसङ्घको महासभामा जाने

प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली टोली राष्ट्रसङ्घको महासभामा जाने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने भएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म हुने महासभामा जाने टोलीको भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसको जानकारी दिए।

यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक बनाउन पनि सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्री पोखरेलका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब परिवारको सूचीसमेत बैठकले स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल र सदस्यहरूमा रामशरण सापकोटा तथा विष्णु घिमिरे रिमाललाई नियुक्त गरेको छ। त्यस्तै, सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेश र अर्का सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय भएको छ।