२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न भगीरथ प्रयास भइरहेको छ : अर्थमन्त्री वाग्ले

नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न भगीरथ प्रयास भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न सरकारले कडा मेहनत गरिरहेको बताएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यसका लागि अन्तर्राष्ट्रिय स्तरमै पहल भइरहेको जानकारी दिए।

नेपालको पक्ष बलियो रूपमा राख्न राष्ट्र बैंकका डेपुटी गभर्नर र सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली अहिले मलेसियामा खटिएर काम गरिरहेको उनले बताए। यसै विषयलाई लिएर अमेरिकी अर्थमन्त्रीसँग पनि भेट्ने प्रयास गरिरहेको वाग्लेले खुलाए। समयमै यो सूचीबाट बाहिर निस्कन नसके नेपालको अन्तर्राष्ट्रिय वित्तीय साख, बैंकिङ कारोबार, लगानीको वातावरण र पुँजी भित्रिने क्रममा नराम्रो असर पर्ने भएकाले सरकार गम्भीर भएर लागेको उनको भनाइ छ।

सुधारका काम गर्दा केही अफवाह फैलिएको भन्दै उनले त्यस्ता विषयलाई गम्भीरताका साथ उठाइदिन पत्रकारहरूलाई आग्रह गरे। यसका साथै, प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय आर्थिक स्रोत जुटाउन सरकार केन्द्रित रहेको उनले बताए। अबका संरचना पुरानै जस्तो नभई जलवायु अनुकूल र बलिया बनाउने सरकारको नीति छ। देशको आर्थिक विकासका लागि निजी क्षेत्रलाई साथमै लिएर लगानीमैत्री वातावरण बनाउन आफू निरन्तर लागिपरेको पनि उनले बताए।