२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

प्रधानमन्त्रीलाई निजी क्षेत्र मन पर्दैन : गगन थापा

प्रधानमन्त्रीलाई निजी क्षेत्र मन पर्दैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई निजी क्षेत्र मन नपर्ने आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीका पछिल्ला कुरा र निर्णय हेर्दा उनी निजी क्षेत्रप्रति सकारात्मक नदेखिएको बताए।

देशको अर्थतन्त्र कता लैजाने भन्ने विषयमा प्रधानमन्त्री स्पष्ट नभएको थापाको भनाइ छ। दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड जस्ता सरकारी उद्योग सरकार आफैँले चलाउन नहुने उनले बताए। सरकार आफैँले उद्योग चलाउनुभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बढाउने नीति ल्याउनुपर्नेमा उनले जोड दिए।

२०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको सम्झाउँदै थापाले भने, “देश कता जाने भन्ने कुरा प्रधानमन्त्रीले के रोज्छन् भन्नेमा भर पर्छ।” निजी क्षेत्र र बजारलाई विश्वास नगरेसम्म देशको आर्थिक विकास हुन नसक्ने दाबी गर्दै उनले लगानीको राम्रो वातावरण बनाउन सरकारसँग माग गरेका छन्।