२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजान सिफारिस अनिवार्य : मन्त्री बादी

बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजान सिफारिस अनिवार्य : मन्त्री बादी

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रबाट बालबालिकालाई अन्यत्र लैजाँदा अनिवार्य रूपमा सिफारिस लिन आग्रह गरेकी छन्। शुक्रबार संसदीय समितिको बैठकमा उनले स्थानीय तह र बाल अधिकार परिषद्को अनुमतिविना बालबालिकालाई अन्त नलैजान भनेकी हुन्। विपद्को बेला बालबालिका बेचबिखनमा पर्न सक्ने जोखिम उच्च हुने भएकाले यस्तो कडाइ गरिएको उनले बताइन्।

मानव बेचबिखन रोक्न प्रहरीसँग मिलेर बेलकोट, गल्छी नाका, शिवपुरी र कजुरी भञ्ज्याङ जस्ता ठाउँमा चेकपोस्ट राखेर निगरानी बढाइएको उनले जानकारी दिइन्। मन्त्री बादीले बाढीपीडित र बालबालिकाका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी नराख्न पनि सबैलाई आग्रह गरिन्। राहत बाँडेको नाममा पीडितको दुःखलाई प्रचारको साधन बनाउन नहुने भन्दै उनले अनधिकृत तस्बिर र भिडियो रोक्न साइबर ब्युरोसँग समन्वय भइरहेको बताइन्।

अहिले परिवार नभेटिएका १२० जना बालबालिकालाई सुरक्षित स्थानमा राखिएको छ। उनीहरूको हेरचाहका लागि ललितपुरको गोदावरीमा अस्थायी आश्रयस्थल बनाउने काम तीव्र पारिएको छ। परिवारको अत्तोपत्तो नलागेका बालबालिकाको जिम्मा सरकारले नै लिने उनले प्रस्ट पारिन्। विपद् व्यवस्थापनका लागि हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ५६ करोड रुपैयाँभन्दा बढीको राहत सहयोग प्राप्त भएको र थप करिब ६ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको उनले जानकारी दिइन्।