२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसङ्घीय महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसङ्घीय महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्नेछन्। असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने ‘उच्चस्तरीय सामान्य बहस’मा उनले नेपालको तर्फबाट मन्तव्य राख्नेछन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार यो महासभा नेपालका लागि आफ्नो कुरा राख्ने महत्त्वपूर्ण अवसर हो। प्रधानमन्त्री शाहले गत वर्ष नेपालमा भएको ‘जेनजी’ आन्दोलन, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गर्नेछन्।

सम्बोधनका क्रममा जलवायु परिवर्तनको मुद्दालाई विशेष प्राथमिकता दिइनेछ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको उदाहरण दिँदै प्रधानमन्त्रीले नेपालजस्ता देशले भोगिरहेको जलवायु सङ्कटबारे विश्वको ध्यानाकर्षण गराउनेछन्। हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि त्यसको गम्भीर मार खेप्नुपरेको भन्दै उनले धनी र विकसित मुलुकहरूसँग प्रविधि, सहुलियतपूर्ण आर्थिक सहयोग र जलवायु न्यायअन्तर्गत उचित क्षतिपूर्ति माग गर्नेछन्।

साथै, नेपालले आफ्नो ४६ प्रतिशत जङ्गल र हिमाली क्षेत्रमार्फत विश्व वातावरण संरक्षणमा पुर्याएको योगदानबारे पनि जानकारी गराइनेछ। महासभाकै अवसर पारेर नेपालले हिमाली क्षेत्रमा परेको जलवायु असरबारे छलफल गर्न ‘सगरमाथादेखि समुद्रसम्म’ नामक सहायक कार्यक्रम पनि आयोजना गर्दैछ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव राईलगायतका पदाधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनालले अतिकम विकसित तथा भूपरिवेष्टित मुलुकका मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनुका साथै विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्नेछन्।