परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूतबीच भेट, बाढीपीडितलाई सहयोग गर्न अमेरिका तयार
- २६ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अमेरिकी दूतावासकी नयाँ कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राजदूत बोल्डिनले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरिन्। यो अप्ठ्यारो परिस्थितिमा अमेरिका नेपाल र नेपाली जनताको साथमा रहेको उनले बताइन्। बाढीपछिको राहत, पुनःस्थापना र पुनर्निर्माणका काममा नेपाललाई आवश्यक सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारीसमेत उनले दिइन्।
जवाफमा मन्त्री खनालले विपद्को बेला सहानुभूति र सहयोगको प्रतिबद्धता जनाएकोमा अमेरिकी सरकार तथा जनतालाई धन्यवाद दिए। उनले बाढीपीडितको राहतदेखि लिएर पुनर्निर्माणको अन्तिम चरणसम्म अमेरिकाको निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे।