बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिन्नौँ : प्रधानमन्त्री शाह
- २९ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतसाधनको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले सरकार र दातृ निकायको स्रोत प्रयोग गरेर काम गर्ने बताए।
विपद्को बेला संघ, प्रदेश र स्थानीय तह मिलेर काम गरेकोमा प्रधानमन्त्री शाहले खुसी व्यक्त गरे। उनले प्रभावित क्षेत्रका भत्किएका सडक खुलाउन सरकारले लगातार काम गरिरहेको जानकारी दिए। जोखिममा रहेका नदी किनारका बस्तीहरु अब त्यही ठाउँमा बसाउन नसकिने भन्दै उनले सुरक्षित र नजिकैको ठाउँ खोज्न जनप्रतिनिधिलाई आग्रह गरे। नयाँ बस्ती बसाउँदा मानिसको रोजगारी, शिक्षा, स्वास्थ्य र खेतीयोग्य जमिनको समेत ख्याल गरेर वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।
जनप्रतिनिधिसँगको छलफलले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न सजिलो भएको प्रधानमन्त्री शाहले बताए। आजको छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालगायत नुवाकोट, रसुवा, धादिङ, तनहुँ र गोरखाका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरु सहभागी थिए।