आठ महिनाकी छोरी च्यापेकी आमालाई बालकनीबाट धकेलेर हत्या
- २१ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित ब्रोन्क्समा एक २३ वर्षीया आमालाई उनको ८ महिनाकी छोरीसहित अपार्टमेन्टको बालकनीबाट धकेलेर हत्या गरिएको छ। घटनामा आमा न्याथली रामिरेजको ज्यान गएको छ भने बच्चाको अवस्था गम्भीर छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ३ बजेतिर रामिरेजलाई बच्चा बोकिरहेकै अवस्थामा बालकनीबाट तल खसालिएको थियो। कुन तलाबाट खसालिएको हो भन्ने यकिन नभए पनि उक्त भवन १७ तलाको छ। घटनालगत्तै दुवैलाई अस्पताल लगिएको थियो, जहाँ डाक्टरले आमालाई मृत घोषणा गरे। गम्भीर घाइते भएकी बालिकाको अहिले अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले यस घटनालाई हत्या मानेर अनुसन्धान गरिरहेको छ। महिलाका पूर्वप्रेमीमाथि प्रहरीले शंका गरेको छ र सोधपुछका लागि उनको खोजी गरिरहेको छ। प्रहरीले अनुसन्धानका लागि हेरेको भिडिओमा एक पुरुष घटनास्थलबाट हिँड्दै गरेको देखिएका छन्। रामिरेज बस्ने ठाउँमा यसअघि पनि घरेलु हिंसाका घटना हुने गरेको अनुसन्धानबाट खुलेको छ। घटनामा हालसम्म कसैलाई पक्राउ गरिएको छैन।