२० कार्तिक २०८३, शुक्रबार
6 November 2026, Friday

पत्नी ममताको शव काटेर फोहोरमा फालेको नरेशको अदालतमा स्वीकारोक्ति

पत्नी ममताको शव काटेर फोहोरमा फालेको नरेशको अदालतमा स्वीकारोक्ति

न्युयोर्क- अमेरिकाको भर्जिनियास्थित अदालतमा नरेश भट्टले आफ्नी पत्नी ममता काफ्लेको शव काटेर फोहोर फाल्ने भाँडोमा फालेको स्वीकार गरेका छन्। बिहीबारको सुनुवाइमा उनले सन् २०२४ को जुलाई ३० मा ममतालाई आफ्नै कोठाको भुइँमा मृत अवस्थामा भेटेपछि डराएर यस्तो कदम चालेको बयान दिए।

ममताको नजिकै विष र बान्ता देखेको दाबी गर्दै उनले आत्महत्या गर्न बाध्य पारेको आरोप लाग्ने डरले शव लुकाउने निर्णय गरेको बताए। अदालतमा आफ्नै वकिलले घटनापछि प्रहरीलाई खबर किन नगरेको भनी सोध्दा नरेशले भने, “म त्यो बेला निकै डराएको थिएँ। मैले किन खबर गरिनँ मलाई नै थाहा छैन। म निकै आत्तिएको थिएँ। दुई वर्षभन्दा बढी भइसक्यो, मैले ३५ सय घण्टाभन्दा बढी ध्यान गरिसकेँ तर अझै पनि मसँग यसको जवाफ छैन।” उनले आफूलाई आत्महत्या दुरुत्साहनको आरोप लाग्ने डर भएको वकिलसामु स्वीकार गरे।

पसलबाट फर्केपछि के गर्यौ भन्ने प्रश्नमा नरेशले आरा र अलिअलि चक्कुको प्रयोग गरेर शवलाई सानो बनाएको बताए। उनले काटेको शवलाई झोलामा हालेर फोहोर फाल्ने भाँडोमा राखेको र फोहोर उठाउने गाडी आउनुअघि नै यो काम भ्याएको अदालतमा बताए। तर पसलबाट पन्जा किन किनेको भन्ने प्रश्नमा भने उनले आफूलाई केही थाहा नभएको जवाफ दिए।

सरकारी वकिल म्याथ्यु स्विटले सोधपुछ गर्ने क्रममा नरेशलाई सिधै ‘तिमी झुटो बोल्ने मान्छे हौ’ भनेर आरोप लगाएका थिए। नरेशले सहजै ‘हो’ भनेर जवाफ दिँदा अदालतमा उपस्थित मानिसहरुले ताली बजाएका थिए। नरेशले सेनामा हुँदादेखि नै आफूलाई मानसिक समस्या रहेको र राति डरलाग्दो सपना देखेर कराउँदै ब्युँझिने गरेको पनि बताए। सुरुमा भने उनले श्रीमती हराएको भन्दै सबैलाई ढाँटेका थिए।

नरेशको यो क्रुर बयान सुनेर अदालतमा उपस्थित ममताका आमा, साथीहरु र समुदायका सदस्यहरु स्तब्ध बने। ममताकी साथी बिना खड्का लामाले यो घटना पत्याउनै नसकिने र नरेशको मुटु नै नभएको प्रतिक्रिया दिइन्। समुदायकी अर्की सदस्य मेलिसा बार्टनले नरेशले सुरुदेखि नै सबैलाई झुट बोलेको, श्रीमती हराउँदा कुनै दुख नदेखाएको र खोजी कार्यमा समेत साथ नदिएको भन्दै आक्रोश पोखिन्। ममताको शव भने अझै फेला पर्न सकेको छैन।