२० कार्तिक २०८३, शुक्रबार
6 November 2026, Friday

काठमाडौँलाई २४ घण्टा खुलाउने तयारी, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल

काठमाडौँलाई २४ घण्टा खुलाउने तयारी, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेललाई मात्र नभई समग्र काठमाडौँ उपत्यकालाई नै २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको छ। ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको एक छलफलमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले यस विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग कुराकानी भइरहेको बताए।

उनले ठमेललाई मुख्य पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिपरेको भन्दै गैरकानुनी काम रोक्न घरधनी र व्यवसायीको सहयोग मागे। समस्या सुल्झाउन महिनामा एकपटक प्रशासनमा बैठक बस्ने उनको प्रस्ताव छ। जिल्ला प्रहरी प्रमुख दिलीप घिमिरेले पनि ठमेललाई सुरक्षित बनाउन स्थानीयको सहयोग अनिवार्य भएको बताए।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, पार्किङ, फोहोर, जाम र सडकमा माग्ने मानिसहरुको समस्या हटाउन सम्बन्धित निकायसँग मिलेर काम भइरहेको बताए। यस्तै, ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले स्थानीय र व्यवसायी सहमत भए ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन ट्राफिकले सहयोग गर्ने बताए। उनले जथाभावी पार्किङ गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिए।

कार्यक्रममा व्यवसायी र घरधनीले राति हिँडडुल गर्न गाह्रो भएको, लागुऔषधको समस्या, फोहोर र सातघुम्तीमा ढल जमेर हुने सास्तीबारे अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए। परिषद्का पदाधिकारीहरुले गत वैशाख १ देखि लागू भएको ठमेल २४ घण्टा खुल्ने नियमलाई प्रभावकारी बनाउनुपर्ने र पर्यटन विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।