२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

अमेरिकामा मुना पाण्डेको हत्यामा ‘संलग्न’ बब्बी सिंह पक्राउ

अमेरिकामा मुना पाण्डेको हत्यामा ‘संलग्न’ बब्बी सिंह पक्राउ

न्युयोर्क- अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा भएको नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्यामा संलग्न आरोपमा त्यहाँको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ५३ वर्षीय बब्बी सिंह शाह रहेका छन् ।

सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको छ। गत सोमबार साँझ मुना पाण्डे ह्युस्टनको वेस्ट एयरपोर्ट बुलेभार्डस्थित आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन्।

नेपालिज एसोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीनवटा गोली लागेको थियो र उनी ओछ्यानमै पल्टिरहेको अवस्थामा भेटिएकी थिइन्।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्। सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्।

पाण्डेको अन्तिम संस्कारका लागि नेपालबाट उनकी आमा अनिता पाण्डे अधिकारी अमेरिका आउन चाहेकी छन्। तर उनले आर्थिक समस्या भएको बताएकी छन्। यसैबीच मुनाको अन्तिम संस्कार तथा उनकी आमालाई अमेरिका यात्राका लागि खर्च जुटाउन गोफन्डमी अभियान सुरु गरिएको छ।

५० हजार डलर संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गोफन्डमी अभियानले सहयोगका लागि सबैसँग अपिल गरेको छ। मुनाकी आमा अनितालाई छोरीको अन्तिम संस्कारका लागि अमेरिका ल्याउन समेत आर्थिक सहयोग गर्नुपर्ने देखिएको अभियानले जनाएको छ।

मुना आफ्नी एक मात्र सन्तान भएको र उनी पनि बितेपछि आफ्नो संसारै सकिएको दुखेसो अनिताले गरेकी छन्।