२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो पूर्णबहादुरको सारंगी

अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो पूर्णबहादुरको सारंगी

काठमाडौं ।अभिनेता विजय बरालको मुख्य अभिनय रहेको फिल्म पूर्णबहादुरको सारंगीले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको छ। फिल्म प्रदर्शन भएको दशौं दिन शनिबार फिल्मले तीन करोड ८९ लाख कमाइ गर्दै यो रेकर्ड बनाएको हो।

त्यस्तै, फिल्मले शुक्रबार दुई करोड ९९ लाख कमाएको थियो। फिल्मको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको फिल्मको १० दिनसम्मको आम्दानी विवरणअनुसार फिल्मले हालसम्म देशव्यापी रूपमा १७ करोड ९८ लाखको कमाइ गरेको छ।

योभन्दा अघि एकैदिनमा धेरै कमाउने फिल्मको रेकर्ड कबडडी ४ ले बनाएको थियो। सो फिल्मले पहिलो दिनमा दुई करोड ९० लाख ग्रस कमाइ गरेको थियो। कबड्डीमा विजय सहायक भूमिकामा थिए।

पूर्णबहादुरको सारंगीले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान रचेको छ। फिल्मले शनिबार देशभर चार सय ६५ भन्दा बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। यो रेकर्ड फिल्म बेहुली फ्रम मेघौलीले देशभरि तीन सय ३५ शो सहित बनाएको थियो। दर्शकको मागलाई मध्यनजर गर्दै कतिपय हलले मध्यरातमा पनि फिल्म चलाएका छन्। हालसम्म यसको नाइट शोसमेत हाउसफुल पाइएको छ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पटकथा र संवाद महेश दवाडीको रहेको छ। फिल्ममा विजयका साथमा प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटालगायतले अभिनय गरेका छन्। पूर्णबहादुरको सारंगी रुवाउने फिल्मका रूपमा लोकप्रिय
भएको छ।