२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

न्युयोर्क- बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। यसमा नेपालकी शिलशिला आचार्य पनि यस सूचीमा समावेश भएकी छन्। आचार्य, जो फोहर व्यवस्थापन र दिगो विकास क्षेत्रमा कार्यरत एक प्रमुख उद्यमी हुन्, नेपालमा प्लास्टिक पुन: प्रयोग र हरित क्षेत्रको प्रवर्द्धन गर्दै आएकी छन्।

उनी ‘अभ्नी भेन्चर्स’ नामक संस्थाको संस्थापक हुन्, जसले सीमान्तकृत समुदायका सदस्यलाई रोजगारको अवसर प्रदान गर्दै प्लास्टिक फोहोर व्यवस्थापनमा अग्रणी भूमिका निभाएको छ।

शिलशिला आचार्यको नेतृत्वमा ‘धन्यवाद, म आफैँ झोला बोक्छु’ अभियानले प्लास्टिक झोलाको प्रयोगलाई घटाउन महत्त्वपूर्ण योगदान पुर्याएको थियो। यस अभियानले नेपालमा प्लास्टिकको प्रयोगमा ठूलो कमी ल्याएको छ। उनले हिमालय सफाइ अभियानको पनि नेतृत्व गरेकी थिइन्, जसमा ११९ टन फोहर सङ्कलन गरिएको थियो।

उनको कार्यले आदिवासी महिलाहरूसम्म फोहरबाट बनेका शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्ना जीवनस्तरलाई सुधार गर्न मद्दत पुर्याएको छ।

सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन लगायतका प्रसिद्ध महिला नेताहरू समावेश छन्।