२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

बन्धक रिहा नगरे थप विनाशकारी परिस्थिति ब्यहोर्नुपर्ने हमासलाई ट्रम्पको चेतावनी

बन्धक रिहा नगरे थप विनाशकारी परिस्थिति ब्यहोर्नुपर्ने हमासलाई ट्रम्पको चेतावनी

न्युयोर्क-  अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले जनवरी २० मा आफूले कार्यकाल सम्हाल्नुअघि हमासद्वारा गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिनु दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत् हमास र मध्यपूर्वका लागि यस्तो चेतावनी दिएका हुन्र बन्धक रिहा गर्न भन्दै ट्रम्पले मानवता विरुद्ध अत्याचार गर्ने जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिए।

जुनसुकै समूहले बन्धक बनाए पनि उसले अमेरिकी इतिहासको अहिलेसम्मकै ठूलो सजायको सामना गर्नुपर्ने उनको चेतावनी छ।

सन् २०२३ अक्टोबरमा अप्रत्याशित रूपमा हमासले इजरायलतर्फ आक्रमण गरेर करिब दुई सय ५० जनालाई बन्धक बनाएर गाजा लगेको थियो। तीमध्ये केही मानिस अमेरिकी नागरिक रहेको बताइएको छ।

दुई सय ५० मध्ये एक सय एक जना अझै हमासको नियन्त्रणमा रहेको इजरायली पक्षको दाबी छ। एक सय एकमध्ये आधाको ज्यान गइसकेको अनुमान गरिएको छ। तीन मध्ये नेपाली युवा विपीन जोशी पनि रहेका छन्।

हमासले भने युद्धविराम नभएसम्म बन्धक रिहा नहुने अडान राख्दै आएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई पूर्ण रूपमा ध्वस्त नपारेसम्म युद्धविराम नहुने बताउँदै आएका छन्।

यसैबीच, हमासले १४ महिनादेखि जारी युद्धमा ३३ जना बन्धकको मृत्यु भइसकेको बताएको छ। हमासले मृत्यु हुनेको राष्ट्रियता भने खुलाएको छैन। बाँकी बन्धक युद्धका क्रममा बेपत्ता भइसकेको जानकारी हमासले दिएको छ। हिजो हमासले आफ्नो नियन्त्रणमा रहेका एक अमेरिकी(इजरायली युवाको भिडियो सार्वजनिक गरेको थियो।

जसमा बन्धक बनाइएका युवाले ट्रम्पलाई आफ्नो रिहाइका लागि पहल र सुरक्षित घर फर्केने सुनिश्चत गर्न आग्रह गरेका थिए।