२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौँ आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्।

मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् ।वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् ।

मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताउँदै मेक्सिकोले ‘ मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ बताएको छ ।

ह्वाइट हाउसले दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेका, सयौँलाई सैनिक विमानबाट देश निकाला गरिएको र ‘इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको’ बताएको छ । बिहीबार ५३८ जना अवैध आप्रवासी ‘अपराधी’ पक्राउ परेका छन् भने शुक्रबार ५९३ जना पक्राउ परेका छन् ।

ट्रम्पका पूर्ववर्ती जो बाइडेनको समयमा निर्वासन उडानहरू नियमित रूपमा सञ्चालन गरिएको थियो । सन् २०२४ मा कुल दुई लाख ७० हजार व्यक्तिलाई निर्वासित गरिएको थियो यो पछिल्लो एक दशकमा उच्च रेकर्ड हो । उक्त अवधिमा उक लाख १३ हजार ४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।