२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

अमेरिकामा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्न रोक

अमेरिकामा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्न रोक

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

रिपब्लिकन नेताहरूले यो आदेशले खेलकुदमा निष्पक्षता पुनर्स्थापित गर्ने बताउँदा लैङ्गिक तथा अल्पसंख्यक समर्थक र मानव अधिकार संगठनहरूले यो कदमलाई भेदभावपूर्ण भनेका छन्। ट्रम्पले यसबारे सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा जानकारी दिएका हुन्। यो दिन देशका महिला खेलाडीहरूका लागि ठूलो दिन भएको उनले बताएका छन्।

‘हिजो मैले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेँ,’ ट्रम्पले लेखेका छन्, ‘यसले एनसीएएलाई आधिकारिक रूपमा पुरुषहरूलाई महिलाको खेलमा सहभागी हुने आफ्नो नीति परिवर्तन गर्न अनुमति दिएको छ। अब महिलाहरूको खेलमा पुरुषले खेल्न पाउने छैनन्।’

ट्रम्पले आफ्नो पाेस्टमा ट्रान्सजेन्डर महिलाहरूको तुलना पुरुषसँग गरेका छन्। एसीएएको अर्थ राष्ट्रिय कलेजिएट एथलेटिक संघ हो। यसले संयुक्त राज्य अमेरिकामा अन्तरकलेज एथलेटिक्सलाई नियन्त्रण गर्छ।

‘पुरुषहरूलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्न कहिल्यै अनुमति दिइनु हुँदैनथ्यो,’ ट्रम्पले लेखेका छन्, ‘महिला खेलकुद बचाउने राष्ट्रपति भएकोमा म आफैँप्रति गर्व महसुस गर्छु।’

साथै उनले ओलम्पिक कमिटीले सामान्य ज्ञान प्रयोग गर्ने भन्दै यही नीति लागू गर्ने विश्वास व्यक्त गरे।