२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा

अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा

वाशिङ्टन-  अमेरिकाले विदेशमा रहेका आफ्ना दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा आवेदनहरू अस्थायीरुपमा रोक्न आदेश दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अब आवेदकहरूको सामाजिक सञ्जालको गहन अनुसन्धान गर्ने जनाएको छ।

विद्यार्थी भिसाका आवेदकहरूको सामाजिक सञ्जाल जाँच (सोसल मिडिया स्क्रिनिङ) कडा बनाउने तयारीस्वरूप यस्तो निर्णय लिएको जनाइएको छ। अमेरिकी विदेश मन्त्रालयले विश्वभरका अमेरिकी कूटनीतिक नियोगहरूलाई पठाएको एक पत्रमा विदेश मन्त्री मार्को रुबियोले यो स्थगन ‘अर्को निर्देशन नआएसम्म’ कायम रहने उल्लेख गरेका छन्।

ज्ञापनमा भनिएको छ, ‘विद्यार्थी तथा बिदेशी विनिमय कार्यक्रमका लागि आवेदन दिनेहरूका सामाजिक सञ्जालको जाँच प्रक्रिया अझ कडाइका साथ अगाडि बढाइनेछ,’जसले विश्वभरका अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूमा ‘गम्भीर प्रभाव’ पार्नेछ।

यो निर्णय राष्ट्रपति ट्रम्प र अमेरिकाकै केही प्रतिष्ठित विश्वविद्यालयहरूबीच बढ्दो विवादको सन्दर्भमा आएको हो। ट्रम्पले ती शिक्षण संस्थाहरूलाई अत्यधिक वामपन्थी भएको आरोप लगाउँदै आएका छन्। उनले केही विश्वविद्यालयहरूले क्याम्पसमा यहूदी विरोध (एण्टीसेमिटिज्म) फैलाउन सहजीकरण गरेको र जातीय आधारमा विभेदकारी भर्ना नीति अपनाएको दाबी गरेका छन्।

विगत दुई महिनायता, हार्वर्ड र डोनाल्ड ट्रम्प प्रशासन बीचको विवाद गहिरो हुँदै गएको छ।