कोलोराडो — अमेरिकी डेमोक्र्याट नेतृत्वमा रहेको कोलोराडो राज्यले गैरकानुनी आप्रवासीहरूलाई सार्वजनिक स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउँदै आएकोमा, त्यही राज्यका रिपब्लिकन सांसदहरूले उक्त नीति तत्काल परिवर्तन गर्न माग गरेका छन्।
रिपब्लिकन कांग्रेस सदस्यहरू गेब इभान्स, जेफ क्र्याङ्क र लोरेन बोएबर्टले राज्यका गभर्नर जेरेड पोलिसलाई पत्र लेख्दै गैरकानुनी रूपमा अमेरिका बसोबास गरिरहेका आप्रवासीहरूलाई Health First Colorado कार्यक्रम अन्तर्गत दिइने स्वास्थ्य बीमा हटाउन आग्रह गरेका हुन्। उक्त कार्यक्रम यो वर्षदेखि लागू भएको हो।
पत्रमा उल्लेख छ: “क्यालिफोर्निया र मिनेसोटा जस्ता डेमोक्र्याट शासित राज्यहरूले गैरकानुनी आप्रवासीलाई दिइने स्वास्थ्य सेवा नीतिहरू उल्टाउँदै छन्। उनीहरूले यी नीतिहरू महँगो, अपायक र अमेरिकन करदाताका लागि बोझ भएको बुझ्न थालेका छन्। तर कोलोराडो अझै उल्टो दिशामा अघि बढिरहेको देख्दा दुःख लाग्दो छ।”
गैरकानुनी आप्रवासीका लागि स्वास्थ्य सेवा : खर्चिलो र विवादास्पद
हाल कोलोराडो अमेरिकाका सात राज्यमध्ये एक हो, जसले आप्रवासीको कानुनी हैसियत नहेरीकन स्वास्थ्य बीमा सेवा दिन्छ। तर अन्य केही राज्यहरूले खर्च घटाउन भन्दै अब यो सेवा बन्द गर्ने वा सीमित गर्ने नीति लिएका छन्। मिनेसोटा र इलिनोइसले बजेट सम्झौता अन्तर्गत यो सेवा बन्द गर्दैछन् भने क्यालिफोर्निया भने सेवा ‘फ्रिज’ गर्ने वा विकल्प खोज्ने तयारीमा रहेको Wall Street Journal ले जनाएको छ।
यस्तै, क्यालिफोर्नियामा गरिएको एक सर्वेक्षणमा ६० प्रतिशत जनताले गैरकानुनी आप्रवासीलाई Medicaid सेवा दिनु उचित नभएको बताएका छन्।
संघीय बजेट विधेयकले राज्यलाई थप दबाब
रिपब्लिकन सांसदहरूले लेखेका पत्रमा संघीय संसदमा विचाराधीन ‘रिकन्सिलिएसन विधेयक’ को उल्लेख गरिएको छ। उक्त विधेयक अनुसार गैरकानुनी आप्रवासीलाई Medicaid सेवा दिने राज्यहरूको संघीय सहायता रकम (FMAP) ९० प्रतिशतबाट घटाएर ८० प्रतिशतमा झारिने प्रस्ताव गरिएको छ। यसको असर कोलोराडो जस्ता राज्यमा ठुलो आर्थिक भारका रूपमा पर्ने सांसदहरूको दाबी छ।
गभर्नर पोलिसको प्रतिक्रिया : “तपाईंहरूले नै ४ लाख नागरिकको स्वास्थ्य सेवा खोसेका हो”
गभर्नर पोलिसका प्रवक्ताले भने रिपब्लिकन सांसदहरूको आरोप अस्वीकार गरेका छन्। उनले फक्स न्यूज डिजिटललाई दिएको वक्तव्यमा भनेका छन्, “यी सांसदहरू आफैले Medicaid र प्राइभेट बीमा कटौती गर्ने विधेयकमा मत दिएर करिब ४ लाख कोलोराडो नागरिकको स्वास्थ्य सुविधा खोसेर अहिले ध्यान अन्यत्र डाइभर्ट गर्न खोजिरहेका छन्।”
उनले थपे, “गभर्नर पोलिस संघीय सिनेटलाई यो विधेयक पूर्ण रूपमा पुनः लेख्न र कोलोराडोबासीलाई आवश्यक पर्ने सहायता सुनिश्चित गर्न आह्वान गर्छन्।”
यो विवादले कोलोराडोमा आप्रवासी नीतिको आर्थिक र राजनीतिक असरको गहिरो बहस उत्पन्न गराएको छ। एकातर्फ करदातामाथिको बोझ, अर्कोतर्फ स्वास्थ्य सेवाको पहुँच र मानव अधिकारबीच सन्तुलन कसरी कायम गर्ने भन्ने चुनौती राज्यको नीति निर्माणकर्तामाझ स्पष्ट रूपमा देखिएको छ।