२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

सामाजिक यथार्थ बोकेको मौलिक तीज गीत ‘घर झगडा–८’ सार्वजनिक

सामाजिक यथार्थ बोकेको मौलिक तीज गीत ‘घर झगडा–८’ सार्वजनिक

न्युयोर्क- तीज पर्वको रौनक नजिकिँदै गर्दा सामाजिक सन्देशसहितको मौलिक तीज गीत ‘घर झगडा–८’ सार्वजनिक भएको छ। हिन्दू नारीहरूको महान् पर्व तीजको अवसर पारेर तयार पारिएको यो गीतले समाजमा व्याप्त यथार्थ घटनालाई कलात्मक रूपमा उजागर गर्दै नारी भावना, कर्तव्य र पीडालाई सशक्त ढंगले प्रस्तुत गरेको छ।

लोकप्रिय गीतकार शिव हमालको लेखन, यज्ञ सापकोटाको संगीत र स्वरमा तयार पारिएको गीतमा टीका सानु, उदयराज डुम्रे, सुमन थापा मगर र स्वयम् सापकोटाको सशक्त आवाज सुन्न सकिन्छ। ‘घर झगडा’ शृंखलाको यो आठौं भाग हो, जसले सामाजिक कथालाई निरन्तरता दिँदै नयाँ प्रसंग प्रस्तुत गरेको छ।

गीतको भिडियो निर्देशन मदन खड्काले गरेका छन् भने शुसिला थापा, अनिता थापा र यज्ञ सापकोटा मुख्य भूमिकामा देखिएका छन्। साथमा कुमार भारती र गीताञ्जली योगीले बुवा–आमाको भूमिकालाई जीवन्त बनाएका छन्। बाल कलाकार रेसुना गौतम र आयुष गौतमले बालस्वरूपका पात्रहरूमा अभिनय गरेका छन्।

भिडियोको छायांकन टंक केसी र टोलीले गरेका छन् भने संम्पादन तथा रंग संयोजन सुजन कोइरालाले गरेका छन्। गीताञ्जली योगीले मेकअप आर्टिस्टको रूपमा योगदान दिएकी छिन् भने सम्पूर्ण पोस्ट प्रोडक्सन आर्ट सिने स्टुडियोमार्फत सम्पन्न गरिएको हो।

गीत‘अकला देवी म्युजिक प्रा.लि.’को ब्यानरमा निर्माण भएको हो। यस शृंखलाका अघिल्ला भागहरू (१ देखि ७) ले दर्शक–श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गरिसकेकोमा कलाकारहरूले ‘घर झगडा–८’ पनि उत्तिकै मन पराइने विश्वास व्यक्त गरेका छन्।

गीतमा पात्रहरूबीचको संवादमार्फत वैवाहिक सम्बन्धमा आउने मनोवैज्ञानिक द्वन्द्व, शंका, पीडा र पारिवारिक जिम्मेवारीको चित्रण गरिएको छ।गीतमा “चार साल विदेश बसेर १५ दिन भो आकाे, कुनै दिन पनि देखिन्न दुलही खुसी भाको” “मैले तिम्रो के खाको छु र कति शंका हो नी, यस्तो शंका लाग्छ भने छुट्टै बसे भो नी” जस्ता पंक्तिहरूले गीतलाई यथार्थपरक र गहिरो बनाएको छ।

‘घर झगडा–८’ यज्ञ सापकोटा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले तीजको मौलिकता जोगाउँदै सामाजिक सन्देशलाई अगाडि सारेकोले यसले सांस्कृतिक चेतना अभिवृद्धिमा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ।