मलेशियामा नेपाली कामदार संकटमा: हराउने, मानसिक समस्या र मदिरा दुर्व्यसन बढ्दो
- १४ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- मलेशियामा कार्यरत नेपाली कामदारहरू विभिन्न मानसिक, सामाजिक र कानुनी समस्यामा फँसिरहेका छन्। नेपाली दूतावासका अनुसार खोटाङका मनोज निरौला नामका एक नेपाली कामदार विगत चार वर्षदेखि सम्पर्कविहीन छन्। उनी सन् २०१३ मा रोजगारीका लागि मलेशिया गएका थिए। उनका बुबाले दूतावासमार्फत छोराको खोजी गरिदिन अनुरोध गरेका छन्।
दूतावासका अधिकारीहरूका अनुसार यस्ता हराउने घटना बढ्दै गएका छन् र हालसम्म २५ जना नेपाली कामदार हराइरहेका छन्। बेपत्ता हुनुका मुख्य कारण मानसिक समस्या रहेको जनाइएको छ। अत्यधिक अपेक्षा, नेपालबाट ऋण लिएर जानु, घर-परिवारको दबाब र कार्यस्थलमा असहज वातावरणका कारण कामदारहरू मानसिक तनावमा परिरहेका छन्। यसका कारण कतिपयले परिवारसँग सम्पर्क तोडेर हराउने वा मलेशियामै बसोबास गर्ने गरेका छन्।
मदिरा सेवन पनि ठूलो समस्या बनेको छ। कामदारहरू बिदामा सस्तो लोकल मदिरा सेवन गरी झगडा, कुटपिटजस्ता घटनामा संलग्न हुने गरेका छन्। केही घटनामा उनीहरूलाई मलेशिया सरकारले नेपाल फर्काइदिएको छ। यस्तै व्यवहारका कारण कतिपय कानुनी झमेलामा परेर जेलसम्म पुगेका छन्। हाल मलेशियाका जेलहरूमा विभिन्न अभियोगमा १६४ जना नेपाली थुनामा छन्।
यी समस्या न्यूनीकरणका लागि दूतावासले मनोपरामर्श सेवा प्रदान गर्ने प्रयास गरेको भए पनि त्यो अझै प्रभावकारी बन्न सकेको छैन। श्रमविज्ञहरूका अनुसार समस्याको समाधानका लागि कामदार, तिनका परिवार र राज्य तीनै पक्षको सक्रिय भूमिका आवश्यक छ। वैदेशिक रोजगारीमा जानुअघि आवश्यक जानकारी, सीप र मानसिक तयारी गराउन राज्यको भूमिका अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।