२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

यूएईले रोक्यो नेपालीका लागि भिसा, हजारौँ वैदेशिक रोजगार इच्छुक संकटमा

यूएईले रोक्यो नेपालीका लागि भिसा, हजारौँ वैदेशिक रोजगार इच्छुक संकटमा

न्युयोर्क – संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट र कामदार दुवै प्रकारका भिसा रोक लगाएपछि वैदेशिक रोजगारमा जाने तयारी गरेका युवादेखि म्यानपावर व्यवसायीहरूसम्म अन्यौलमा परेका छन्। सोमबारदेखि भिजिट भिसा बन्द गरिएकोमा मंगलबारदेखि कामदार भिसा पनि स्थगित भएपछि आवेदन दिएकाहरूको प्रक्रिया अस्वीकृत हुन थालेको बताइन्छ।

नेपालमा हालसालै भएको जेन–जी आन्दोलन, त्यस क्रममा देखिएका तोडफोड र कैदीबन्दी फरार घटनालाई यससँग जोडेर व्याख्या गर्ने प्रयास भए पनि आधिकारिक रूपमा पुष्टि भएको छैन। अबुधाबीस्थित नेपाली दूतावासले समेत अहिलेसम्म कुनै औपचारिक जानकारी नपाएको जनाएको छ। श्रम सहचारी पंकज लाभ कर्णका अनुसार कम्पनी र व्यवसायीहरूबाट अनौपचारिक जानकारी आए पनि सरकारी स्तरमा आधिकारिक सूचना प्राप्त भएको छैन।

यसअघि अबुधाबी र दुबईले नेपाली भिजिट भिसा रोकेपछि सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत सुविधा उपलब्ध गराउँदै आएका थिए। तर अहिले त्यो मार्ग पनि बन्द भएपछि नेपालीहरू पूर्णरूपमा प्रभावित भएका छन्। कामदार भिसा टाइपिङ भए पनि अन्तिम चरणमा आवेदन अस्वीकृत भएको म्यानपावर व्यवसायीहरूको भनाइ छ।

यूएईले यसअघि इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा रोक लगाइसकेको थियो। अहिले नेपाल पनि त्यही सूचीमा थपिएको छ।

भिसा स्थगनले रोजगारीका लागि तयारी गरिरहेका नेपाली मात्र नभई व्यवसायी र श्रमिक आपूर्ति गर्ने कम्पनीहरू पनि समस्यामा परेका छन्। साथै यसै महिनाको अन्त्यतिर सारजाहमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको तीन दिवसीय क्रिकेट सिरिज समेत प्रभावित हुने देखिएको छ। खेलाडीहरूलाई नेपालस्थित यूएई दूतावासमार्फत भिसा दिने सम्भावना रहे पनि स्पोन्सर, व्यवसायी र दर्शकहरूलाई गाह्रो पर्ने अनुमान गरिएको छ।

अध्यागमन विभागले हाल नेपाली नागरिकतर्फका सबै भिसा आवेदन रोकेको जनाएको छ। यो निर्णय अस्थायी हो वा स्थायी भन्नेबारे भने अझै स्पष्ट भएको छैन। पछिल्ला वर्षहरूमा नेपालीहरू आपराधिक गतिविधिमा संलग्न भएको भन्दै यूएईका निकायहरूले बारम्बार सचेत गराउँदै आएका थिए।