नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री रायमाझी कारागार फिर्ता
- ०७ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्केका पूर्वमन्त्री टोपबहादुर रायमाझी पुनः कारागार फर्किएका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार भदौ २४ गते कारागारबाट बाहिरिएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थित भएका हुन्।
रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
कारागार विभागका अनुसार आजसम्म देशभरबाट भागेका मध्ये ६ हजार ८४६ कैदीबन्दी र ३४१ सुधारगृहका बन्दी गरी कूल ७ हजार १०७ जना फिर्ता भइसकेका छन्। पछिल्ला २४ घण्टामा मात्रै १२३ जना र तीन दिनमा ७७९ जना फर्किएका छन्।
तर अझै पनि ७ हजार ३०६ जना फरार रहेको विभागले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशभरका कारागार तोडफोड र आगजनी हुँदा १४ हजार ५५६ जना कैदीबन्दी फरार भएका थिए। त्यो बेला देशभर ३० हजार ६४० कैदीबन्दी रहेका थिए।