मुग्लिन–नारायणगढ खण्डमा पहिरो, पोखरा–काठमाडौँ सडकखण्डमा पनि असर
- ०८ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा समेत प्रभाव परेको छ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईका अनुसार उक्त खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेसँगै पोखरा–काठमाडौँ आवतजावत गर्ने गाडी प्रभावित भएका छन्।
पहिरोका कारण सडकमा जाम बढ्दा यात्रुलाई समयमा गन्तव्यमा पुर्याउन नसकिएको र हाल पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।
उनले भने, “मुग्लिन–नारायणगढ खण्ड बन्द हुँदा पश्चिमतर्फ जाने सवारीसाधन पोखरा हुँदै जाँदैछन्, जसले गर्दा चाप झन् बढेको छ।”
हाल पृथ्वीराजमार्गमा कम्पनीका ४०० यात्रुवाहक सवारीसाधन नियमित सञ्चालनमा रहे पनि दसैँ नजिकिँदै गर्दा सडक अवरुद्ध हुँदा यात्रुहरू आवतजावतमा समस्यामा परेका छन्।