काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान
- ०८ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजना अन्तर्गत हालसम्म १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको छ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) का अनुसार करिब १० करोड रुपैयाँ लागतमा ६२ वटा ‘हाई मास्ट लाइट’ जडान गर्ने योजना अघि बढाइएको छ। उनले सामाजिक सञ्जालमार्फत १२ वटा लाइट जडान भइसकेको र बाँकी दसैँअघि नै जडान सम्पन्न हुने जानकारी दिए।
नयाँबसपार्क क्षेत्रमा तीनवटा लाइट जडान गर्ने योजना रहेकोमा हाल दुईवटा जडान भइसकेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए।
यसअघि अघिल्लो कार्यकालमा जडान गरिएका तर नबलेका २ हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई विद्युत् स्ट्रिट लाइटमा रूपान्तरण गरेर अहिले सञ्चालनमा ल्याइएको छ।
महानगरपालिकाले करिब ८५ करोड रुपैयाँ लागतमा स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणमा पुर्याएको र उक्त कार्य पूरा भएपछि उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहले बताए।