६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइ पहलका लागि आमा–बहिनी अमेरिका प्रस्थान

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइ पहलका लागि आमा–बहिनी अमेरिका प्रस्थान

काठमाडौं – प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

पुष्पाले भनिन्, “यसअघि इजरायल गएका थियौँ, अहिले अन्तर्राष्ट्रिय दबाब बढाउन अमेरिका जाँदैछौँ। दाइको रिहाइ अन्तर्राष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि आवाज उठाउन आग्रह गर्छु।”

यसअघि इजरायल सरकारले उनीहरूलाई त्यहाँ पुर्‍याएर पहल गरेको थियो। यसपटक पनि संयुक्त राष्ट्रसङ्घसम्म मुद्दा पुर्‍याउन इजरायलले सहयोग गरेको जनाइएको छ।

गत शनिबार हमासले विपिनसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको थियो। विपिनका बुबा महानन्द जोशीले भने, “दुई वर्ष भयो, आशैमा छौँ। सरकारले कतारलगायत मुलुकसँग पहल गरे छोराको रिहाइ सम्भव छ।”

विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। त्यही क्रममा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलगायत केहीलाई बन्धक बनाइएको थियो।