२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

मन्त्री घिसिङसँग जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री घिसिङसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत तोरुले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा नेपाल–जापानबीचको अनुदान, ऋण, प्राविधिक सहयोग तथा चालु आयोजनाको प्रगतिबारे छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

वार्तामा जापानको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ, बिपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाट तनहुँ जलविद्युत् आयोजना, कोटेश्वर चोक सुधार तथा विद्युत् प्रसारण–वितरण प्रणाली सुधारलगायतका विषयमा चर्चा भएको थियो।

मन्त्री घिसिङले नेपालका रणनीतिक महत्वका आयोजना—जस्तै ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार तयारी तथा काठमाडौँ उपत्यकाको दीर्घकालीन सहरी व्यवस्थापन गुरुयोजना—मा सहयोग गर्न आग्रह गरे।

जापानी राजदूत तोरुले भने, नेपालका ठूला र प्राथमिकता प्राप्त आयोजनामा सहयोग उपलब्ध गराउन जापान तत्पर रहेको बताए।