२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीय स्थल

मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीय स्थल

काठमाडौं – असोज–कात्तिकको प्रमुख पर्यटन याममै म्याग्दीका पर्यटकीय गन्तव्य सुनसान भएका छन्। सामान्यतया यस मौसममा पाहुनाको चहलपहल बढ्ने भए पनि यसपालि होटल व्यवसायी फुर्सदिला बनेका छन्।

बेनीका होटल व्यवसायी राजन लामाका अनुसार ‘जेनजी पुस्ता’को आन्दोलन र नारायणघाट–मुग्लिन–काठमाडौँ सडक अवरुद्ध हुँदा पर्यटकीय गतिविधि प्रभावित भएको हो।

गत वर्षहरूमा मुस्ताङ जाने यात्रु, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्ने तीर्थयात्री तथा मुक्तिनाथ दर्शनका लागि आउने नेपाली–भारतीय पर्यटकका कारण बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुने गर्थे। तर यसपालि तीर्थयात्री र विदेशी पाहुनाको संख्या निकै कम छ।

विश्वप्रसिद्ध घोडेपानी–पुनहिल पदमार्गमा विदेशी पर्यटकको आगमन विगतको तुलनामा एकतिहाइभन्दा पनि कम भएको स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए। उनका अनुसार ३६ जना विदेशीको समूहले बुकिङ नै रद्द गरेका छन्।

अन्नपूर्ण क्षेत्रमा दैनिक सयौँ पर्यटक आउने पुनहिल, तातोपानी कुण्डजस्ता स्थल अहिले निराशाजनक रूपमा सुनसान छन्। भुरुङ–तातोपानीका व्यवसायी अमृतमान शेरचन भन्छन्, “पर्यटक नआएपछि ऋण तिर्नै गाह्रो भएको छ, वैकल्पिक पेशा खोज्ने अवस्था आएको छ।”

व्यवसायीहरूले दसैँपछिको सिजन पनि यस्तै रहने हो भने पर्यटन व्यवसाय संकटमा पर्ने चिन्ता व्यक्त गरेका छन्।