विपद्को एक वर्ष : काभ्रेमा तीन हजार परिवारलाई अस्थायी आवास अनुदान
- ११ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – गत वर्षको असोजमा आएको बाढीपहिरोबाट आवास गुमाएका काभ्रेपलाञ्चोकका ३ हजार १२८ परिवारलाई सरकारले पहिलो किस्ताबापत रु ७ करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराएको छ।
दोस्रो किस्ताका लागि कार्यालयमा राखिएको करिब रु ४ करोड अधिकांश स्थानीय तहले माग नगर्दा अलपत्र छ। हालसम्म बेथान्चोक र रोशी गाउँपालिकाले मात्र दोस्रो किस्ताको रकम लिएर पीडित परिवारलाई वितरण गरेका छन्।
सरकारले प्रतिघरपरिवार रु २५ हजार पहिलो र रु २५ हजार दोस्रो किस्तामा उपलब्ध गराउने गरी कार्यविधि बनाएको थियो। पहिलो किस्ता धुलिखेल ९०, बनेपा ४१, पनौती ६३४, पाँचखाल ८८, मण्डनदेउपुर १३३, नमोबुद्ध ८८४, चौँरीदेउराली २८०, खानीखोला ५३, रोशी ५४८, भुम्लु ४०, तेमाल १४१, बेथान्चोक २३९ परिवारलाई वितरण भएको छ।
विगत वर्षको बाढीपहिरोबाट काभ्रेम ८१ जनाले ज्यान गुमाएका थिए भने छ जना अझै बेपत्ता छन् र करिब एक सय घाइते भएका थिए। हालसम्म पनि क्षतिग्रस्त निजी आवासको विस्तृत आकलन अलपत्र छ, जसका कारण स्थायी घर निर्माण ढिला भएको छ।