२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

काठमाडौं – विश्वको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) को चुचुरोसम्मको आरोहण मार्ग खोलिएको छ ।

सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाका अनुसार शनिबार चार जना शेर्पाहरूले आधार शिविरदेखि चुचुरोसम्म डोरी तानेर ‘रुट’ तयार गरेका हुन् । सो टोलीमा सङ्खुवासभाका टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पा थिए । उनीहरू चालु शरदयाममा धवलागिरि आरोहण गर्ने पहिलो टोली बनेका छन् ।

मार्ग खुलाइसकेकाले मौसम अनुकूल रहे आगामी केही दिनमा अन्य आरोही टोली पनि चुचुरोतर्फ अग्रसर हुने जनाइएको छ ।

पर्यटन विभागका अनुसार यस शरदयाम धवलागिरि आरोहणका लागि सात महिला र १७ पुरुष गरी २४ जनाले अनुमति लिएका छन् । यसबाट करिब रु ५० लाख ७१ हजार राजस्व संकलन भएको छ ।

यसपालि आरोहण टोली मुस्ताङको मार्फा हुँदै आधार शिविर पुगेका हुन् । धवलागिरि गाउँपालिकाको मुदीबगर मार्ग बिग्रिएको र टाढा हुने भएकाले वैकल्पिक बाटो प्रयोग गरिएको बताइएको छ ।

गत वसन्तयाममा दुई समूहका १५ जनाले अनुमति लिए पनि रसियाका पाँच जना आरोही हिमपहिरोमा परेर ज्यान गुमाएका थिए ।

धवलागिरि आरोहणलाई चुनौतीपूर्ण र जोखिमपूर्ण मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले पहिलो पटक धवलागिरिको सफल आरोहण गरेको थियो ।