८ कार्तिक २०८३, आइतवार
25 October 2026, Sunday

मनहास नयाँ बिसिसिआई अध्यक्ष

मनहास नयाँ बिसिसिआई अध्यक्ष

मुम्बई, भारतका पूर्व घरेलु क्रिकेटर मिथुन मनहास भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार मुम्बईमा सम्पन्न वार्षिक साधारण सभापछि उनलाई औपचारिक रूपमा अध्यक्ष घोषणा गरिएको हो । उनले ७० वर्षको अनिवार्य सेवानिवृत्तिमा पुगेका रोजर बिन्नीलाई प्रतिस्थापन गरेका हुन् । उपाध्यक्षमा राजीव शुक्ला र सचिवमा देवजित साइकिया निर्वाचित भएका छन् ।

४५ वर्षीय मनहासले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । तर दिल्लीबाट १५७ प्रथम श्रेणी खेल खेलेर ९७१४ रन बनाएका थिए । दिल्ली टोलीमा वीरेन्द्र सेहवाग र गौतम गम्भीरको छायाँमा परे पनि उनले प्रायः टोलीको नेतृत्व गरेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा उनले ५० भन्दा बढी खेल खेलेका थिए ।

क्रिकेट जीवनपछि उनी प्रशासकका रूपमा सक्रिय भए । जम्मु–काश्मीर क्रिकेट सङ्घमा निर्देशक रहँदा आधारभूत संरचना विकासमा योगदान दिए ।

भारतमा क्रिकेटको अपार लोकप्रियताले बिसिसिआईलाई विश्वकै धनी खेल निकाय बनाएको छ । मनहासलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को समर्थन रहेको बताइन्छ । गत हप्तामात्र गृहमन्त्री अमित शाहको निवासमा उनलाई उम्मेदवारका रूपमा छनोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए ।

उनको निर्वाचनसँगै भारतीय क्रिकेटमा नयाँ प्रशासनिक अध्याय सुरु भएको मानिएको छ ।