२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच वाशिङ्टनमा भेट

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच वाशिङ्टनमा भेट

वाशिङ्टन- विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेट गरेका छन्।

भेटमा अर्थमन्त्री खनालले नेपालमा विशेषगरी पूर्वाधार विकासमा एडीबीले दिँदै आएको दीर्घकालीन सहयोगको प्रशंसा गरे। उनले अहिलेको सरकारले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको पनि बताए, भन्ने जानकारी वाशिङ्टनस्थित नेपाली दूतावासले दिएको छ।

खनालले एडीबीको लगानीमा निर्माण भइरहेका ठूला पूर्वाधार परियोजनाको प्रगति बारे जानकारी दिँदै अध्यक्ष कान्डालाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरे। सो क्रममा कान्डाले नेपालमा भइरहेको राजनीतिक परिवर्तन र सुशासनका प्रयासबारे चासो देखाउँदै, उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।

अर्थमन्त्री खनालले त्यही दिन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिणपूर्वी एसियाली समूहको गभर्नरहरूको बैठकमा सम्बोधन गर्दै, नेपालमा जलविद्युत् र सूचना प्रविधि पूर्वाधारमा लगानी बढाउन आग्रह गरे।

उनले विकास आयोजना कार्यान्वयनमा ढिलाइ हुने समस्या औंल्याउँदै, विश्व बैंकलाई कार्यान्वयनका मापदण्ड र निर्देशिका अझ सरल बनाउन सुझाव दिए। साथै, उनले विश्वव्यापी वित्तीय मापदण्ड बनाउँदा देशविशेषका आवश्यकता र स्थानीय सन्दर्भलाई ध्यान दिनुपर्नेमा जोड दिए।

भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, अमेरिकास्थित राजदूत लोकदर्शन रेग्मी, आर्थिक काउन्सलर युगराज पाण्डे र एडीबीका उच्च अधिकारीहरू पनि उपस्थित थिए।